प्रदेश नं १ बाट लिम्बुवान अलग्गिन्छ : कुमार लिङ्देन

९ असाेज, ललितपुर । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले देश निकट भविष्यमै दस प्लस एकको अवधारणामा जाने बताएका छन् । याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा प्रदेश नं १ नामाङ्कनको उपयुक्ततामाथि आइतबार सम्पन्न बहस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले लिम्बुवान किरात नामको पक्षमा बोलेका छन् ।

प्रदेश नं १ को नाम लिम्बूवान किरात हुनुपर्ने धारणा राख्दै लिङ्देनले भने, ‘हामीले पहिचानको सवालमा उठाइरहेको मुद्दा के हो भन्ने कुराको बटमलाइनमा हामी प्रष्ट हुनुपर्छ । पहिचानमाथि अबको बुझाई भनेको केवल कस्तो पहिरन, कस्तो संस्कृति भन्नेमात्रै होइन । पहिचानको सम्बन्ध भूमिको ऐतिहासिकतासँगै त्यसमाथिको स्वायत्त राज्यसंचालनसँग जोडिन्छ । अबको पहिचानलाई हामीले स्वशासनसँग जोड्नुपर्छ । हाम्रो बटमलाइन यो हुनुपर्छ । त्यसैले हामी छुट्टै लिम्बूवान राज्य प्राप्तिको आन्दोलनमा छौं ।’

लिम्बुवान राज्य प्राप्तिको यो चरणमा प्रदेश नं १ लाई ऐतिहासिकताका आधारमा लिम्बूवान किरात स्वीकार्न सकिने बताउँदै उनले भने, ‘दुई अलग र विशिष्ट पहिचान भएका किरात र लिम्बुवानलाई एउटै प्रदेशमा गाभेर पहिचानवादीबीच मनमुटाव सृजना गर्ने प्रपञ्चले यो प्रदेश बनाइएको हो । लिम्बूवान भन्नासाथ लिम्बूको भन्ने भाष्य निर्माण गरिएको छ, जुन गलत छ । लिम्बुवानको ऐतिहासिकताबारे हजारौँ डकुमेन्टहरु छन् । लिम्बुवान आन्दोलनको लामो विरासत छ । लिम्बुवान प्राप्तिका लागि सहिदहरुको बलिदानी छ ।’

राज्य पुनर्संरचना समितिको प्रतिवेदनले दस प्लस एकको अवधारणा सिफारिस गर्दागर्दै सङ्घीयता विरोधीहरुले सात प्रदेशमा देशलाई जबर्जस्ती लगेको उनले बताए, ‘पहिलो संविधानसभामा पहिचानसहितको सङ्घी‍यताको पक्षमा ककस नै बनेको थियो । षड्यन्त्रपूर्वक संविधानसभा नै विघटन गरियो । तर पहिचान र सामर्थ्यलाई आधार मानेर प्रदेश बनाउने अवधारणा कायमै थियो । पछि पहिचानविरोधीहरुले बलमिच्याइँ गरेर ७ प्रदेश बनाए ।’

लिम्बुवान राज्य प्राप्तिको आधारबिन्दु तय गर्न अहिलेलाई लिम्बुवान किरात मानेर जान सकिने उनले बताए । तर भविष्यमा आठौँ प्रदेशका रुपमा प्रदेश नं १ बाट लिम्बुवान अलग्गिने पनि उनले ठोकुवा गरे ।

कार्यक्रमका अर्का वक्ता जनता समाजवादी पार्टी, लिम्बुवान राज्यसमितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेश नं १ लाई एउटा सिङ्गो प्रदेशको रुपमा नबुझ्न आग्रह गरेका छन् । प्रदेशको नाम लिम्बुवान किरात नाम नै पारित भए पनि तात्विक रुपमा लिम्बुवानले केही फाइदा लिन नसक्ने उनले जिकिर गरेका छन् ।

लिम्बुवान राज्य प्राप्तिको आधारबिन्दु तय गर्न अहिलेलाई लिम्बुवान किरात मानेर जान सकिने उनले बताए । तर भविष्यमा आठौँ प्रदेशका रुपमा प्रदेश नं १ बाट लिम्बुवान अलग्गिने पनि उनले ठोकुवा गरे ।

लिम्बुवान आन्दोलनबारे बोल्दै माखिमले भने, ‘हामी जुनसुकै पार्टीमा आबद्ध भए पनि लिम्बूवान आन्दोलनको हाम्रो लक्ष्य एउटै हो । राजनीतिक पार्टीको रुपमा साधनमात्रै हाम्रो फरक हो, तर गन्तव्य एउटै हो । त्यसैले रुपमा छरिएकोजस्तो देखिए पनि सारमा हाम्रो उद्देश्य आठौँ प्रदेशको रुपमा लिम्बुवान प्राप्ति नै हो ।’

लिम्बुवान र किरातलाई प्रदेश नं एकभित्रका अलगअलग प्रदेशका रुपमा बुझ्न आग्रह गर्दै उनले भने, ‘हामी यही प्रदेशलाई मानेर बस्नेवाला छैनौं । यसले हामीलाई कुनै फाइदा गर्दैन । लिम्बूवान आन्दोलनको म्यान्डेट पनि यो होइन । संसारभर संघीयताको अवधारणालाई हेर्दा सुरुमा थोरै राज्य र पछि बढ्दै गएका छन् । नेपालमा पनि हुने त्यही हो । त्यसैले प्रदेश नं एकलाई नै एउटा सिङ्गो प्रदेशको रुपमा स्वीकारेर बसिरहनुपर्ने कुनै कारण छैन ।’

लिम्बुवानको इतिहासलाई नजरअन्दाज गरेर अन्य नाममा जोड नदिन पनि उनले आग्रह गरेका छन्, ‘लिम्बुवान र लिम्बुवान आन्दोलनको विरासतलाई लत्याएर अन्य नामहरु सिफारिस गर्दै नेताहरुको ढोकाढोका नचहार्न म हाम्रै समुदायका केही अग्रजहरुलाई अनुरोध गर्छु ।’

कार्यक्रमका अर्का वक्ता किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले राज्य निर्माणको राजनीतिक दर्शनलाई सबैले बुझ्न आग्रह गरेका छन् । संसारभर विद्यमान राज्यहरु कुनै एक राजनीतिक दर्शनको आडमा निर्माण भएको बताउँदै उनले भने, ‘लिम्बुवान राज्य निर्माणको राजनीतिक दर्शन यसको ऐतिहासिक पृष्ठभूमि हो । लिम्बुवान भूगोलको ऐतिहासिकतालाई कसैले पनि नकार्न मिल्दैन । त्यही ऐतिहासिक पृष्ठभूमिलाई आधार मानेर दाबी गरिएको लिम्बुवान राज्य प्राप्तिका लागि पटकपटक आन्दोलन भएका छन् । ऐतिहासिक पृष्ठभूमि र आन्दोलनको निरन्तरतालाई मध्यनजर गरेर प्रदेश नं एकको नाम लिम्बुवान किरात हुनुपर्छ ।’

अर्का वक्ता किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिमले प्रदेश नं एकको नाम किरात सगरमाथा हुनुपर्ने धारणा राखेका छन् । अहिलेको शक्तिसन्तुलन हेर्दा लिम्बुवान किरात भनेर गइयोभने असफल भइने उनले जिकिर गरे ।

लिम्बुवान किरातलाई साम्प्रदायिक नामको रुपमा लिइएको बताउँदै उनले भने, ‘लिम्बुवान किरात भनियो भने यो त साम्प्रदायिक नाम भयो भन्नेछन् । अहिले किरात भनेर गइयो र त्यसमा सगरमाथा जोड्दा अरुको पनि अपनत्व हुनेछ । नामको विवादलाई मत्थर गर्न अहिलेलाई किरात सगरमाथा भनेर जाऔँ । यसो गर्दा पछि लिम्बुवान दाबी गर्न सजिलो हुन्छ ।’

थेगिमले आफू लिम्बुवानको विरुद्धमा नरहेको स्पष्ट पार्दै भने, ‘म लिम्बुवान हुनुपर्छ भन्ने पक्षमै हो । तर अहिले विद्यमान प्रदेशमा हामी लिम्बुहरु नै अल्पमतमा छौं । त्यसैले हामीले लिम्बुवान भनेर गयौंभने किरात राई र यस प्रदेशका अन्य समुदायले स्वीकार्ने अवस्था छैन । अहिलेलाई किरात सगरमाथा भनेर गयौँ भने पछि गएर लिम्बूवानका लागि पनि ठाउँ बन्छ । अहिलेको प्रदेशबाट अलग्गिएर आठौँ प्रदेश बनाउन सम्भव भयो भने त्यो लिम्बुवान नै हुनुपर्छ । यसमा मेरो ऐक्यबद्धता छ ।’

कार्यक्रमका अर्का वक्ता किरात धर्म तथा साहित्य उत्थान संघका पूर्वाध्यक्ष चन्द्रकुमार शेर्माले किरात सभ्यता पहिलो भएको जिकिर गर्दै लिम्बूवानलाई किरातले नै समेट्ने धारणा राखेका छन् । किरात सभ्यताको प्रमाण दिंदै उनले भने, ‘इतिहासका विभिन्न दस्तावेजहरुमा किरात सभ्यता उल्लेख भएको छ । अहिले भनिएको लिम्बूवान त्यही किरात सभ्यताको एउटा भूगोल हो । त्यसैले किरात भनेर जाँदा हामी सबै समेटिन्छौँ । इतिहास हेर्दा पनि किरात जेठो देखिन्छ ।’

प्रदेश नं १ को नाम किरात सगरमाथा हुनुपर्ने धारण राख्दै उनले भने, ‘नामाङ्कनको सवालमा यो द्वन्द्व समाधानको उपाय हो । किरात भनियोभने त्यो जेठो सभ्यता पनि भयो । त्यसमा सगरमाथा जोडियोभने सबैलाई मान्य पनि हुने भयो । किरात भन्दैमा लिम्बुवानको पहिचान हराउँदैन । जो जेठो हो, उसको नाम स्वत: पहिला आउँछ ।’

शेर्माले पनि आफू लिम्बूुवानको विरुद्धमा नरहेको स्पष्ट पार्दै भने, ‘लिम्बूवान प्राप्त भयोभने सबैभन्दा खुशी म नै हुनेछु । तर अहिलेको शक्तिसन्तुलन र किरात सभ्यताको इतिहास हेर्दा किरात सगरमाथा नै उपयुक्त नाम हो ।’

‘प्रदेश नं एकको नाम लिम्बूवान किरात नै किन उपयुक्त ?’ शीर्षकसहित किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय, ललितपुरमा सम्पन्न बहस कार्यक्रमलाई कवि स्वप्निल स्मृतिले सहजीकरण गरेका थिए । याक्थुङ लेखक संघ, उपत्यका समितिकी अध्यक्ष शनि लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव मन्जु थेगिमले सञ्चालन गरेकी थिइन् ।

Facebook Comments