‘भोका सपनाहरू’मा मुक्तिको खोजी

नेपाली साहित्याकाशमा होमशङ्कर बास्तोला कवि, कथाकार र सम्पादकको रुपमा सुपरिचित छन् । त्यसो त तिनले निबन्ध, गीत, गजल, हाइकु लगायतका विधामा समेत आफूलाई उभ्याएका छन् । लामो समयदेखि साहित्यमा समर्पित हुँदै आएका छन् । १८ वर्षदेखि अन्तर्बोध साहित्यिक त्रैमासिकको सम्पादन र प्रकाशन गरेका तिनले पूर्वको पशुपति लगायतका अन्य पत्रपत्रिका र स्मारिकाको समेत कुशल सम्पादन गरेका छन् । साहित्यिक पत्रकारितामा विशिष्ट योगदान पुर्याएबापत प्रेस काउन्सिल नेपालबाट पुरस्कृत भइसकेका बास्तोलाले साहित्य सिर्जनामा कला, विचार र सौन्दर्यलाई आत्मसात् गरेका छन् । जीवनलाई हेर्ने दृष्टिकोण र जगतलाई बुझ्ने चेतनामा मुखर तिनको काव्यकला पनि सरल, सहज र सटीक छ, बिम्बचेतना लोभलाग्दो छ । कवि होमशङ्कर बास्तोलाद्वारा रचित नवीनतम् कवितासङ्ग्रह ‘भोका सपनाहरु’ आफैँभित्र एक ऊर्जाशील र युगीन संवादमय कृति हो । यसमा कविले समाजका सुक्ष्मातीत सूक्ष्म पक्षहरूको शील्पगत रुपमा अध्ययन गरेका छन् ।

प्रस्तुत सङ्ग्रहमा वर्गीय दृष्टान्तको मूलभूत र उत्कट चहानालाई प्रक्षेपण गरिएको छ । त्यहाँ अनेकौँ घटना र परिघटनाको यथार्थ प्रतिबिम्बन छ र सुषुप्ततालाई जागृत तुल्याउने अठोट कविभित्र प्रबल देखिन्छ । समाजको दुरावस्था, धुलाम्य र जर्जरपनलाई कविले सचेतनापूर्वक उद्घाटित गरेका छन् । कविले गाउँदेखि सहरसम्मका सपनाका आयामहरू पस्किएका छन् । सुन्दरता र कुरुपताको भेदलाई पहिल्याउँदै समाजको गतिशील बाटो र पाटोलाई चित्रित गरेका छन् ।

कविमा विसङ्गत र अन्याय विरुद्ध परिवर्तनको स्थायी भोक जागेको छ, तिनको निरुपणका लागि धारिला र खिरिला अनुभूति र चिन्तन कविले व्यक्त गरेका छन्, त्यो नै तिनको सुवासमय धरातल हो ।

कविमा विसङ्गत र अन्याय विरुद्ध परिवर्तनको स्थायी भोक जागेको छ, तिनको निरुपणका लागि धारिला र खिरिला अनुभूति र चिन्तन कविले व्यक्त गरेका छन्, त्यो नै तिनको सुवासमय धरातल हो । समाजको सापेक्षता, निरपेक्षता, वर्ग समन्वय, अभिजात्य वर्ग र श्रमिक वर्गका बिचको भेदलाई पर्गेल्दै कवि होमशङ्कर बास्तोला ‘भोका सपनाहरु’ मा प्रकट भएका छन् । उपभोग्य चिन्तन केहो ? जीवन सङ्घर्ष क ेहो ? भन्ने विषयगत विविधतालाई कविले अध्ययन गरेको पाइन्छ । तिनका कविताले जीवन र जगत्को मूल्यको प्रतिबद्धतालाई गहनरूपमा व्यक्त गरेका त छँदैछन् । तिनका कवितामा स्वतन्त्रताको गति, लय र मतिहरु झङ्कृत भएका छन्, त्यो पन नै कविताको उचाइ हो ।

यतिले मात्रै कविको सिर्जनमापन हुँदैन, तिनको व्यापक आयामको खोजी र अध्ययन हुनु अपरिहार्य छ । तिनलाई लागेको भोक परिवर्तन हो, तिनले देखेको सपना मुक्ति हो । यी दुई चीजमा कवि मुकदर्शक रहन सकेनन् । २०६२/०६३ सालको जनआन्दोलनमा राष्ट्रसेवक कर्मचारी भएपनि जागिरलाई दाउमा राख्दै सङ्घर्षमा होमिए । त्यसको प्रभाव कवितामा गहिरैसँग व्यक्त भएको छ । तिनका कवितामा कुनै नारा छैन् । केवल कला छ, विचार छ र सुन्दरताका घतहरु छन् । यसैमा कविले आफूलाई रूपान्तरण गरेका छन् । जसमा प्रतिधु्रवीय कुरुपता विरुद्ध सुन्दर संस्कृति निर्माणका लागि शाश्वत मूल्यलाई कवितामा उभ्याएका छन्, त्यो नै कविको सामर्थ्य हो । यिनै विश्लेषणात्मक मापन पद्धतिमा रहेर कवि होमशङ्कर बास्तोलाद्वारा रचित नवीनतम् कवितासङ्ग्रह ‘भोका सपनाहरु’ को अध्ययन गरिएको हो ।

Facebook Comments