गोहीलालको विज्ञप्ति

म बिहान अोछयानमा पल्टिरहेको थिएँ । गुनीलालले हतार हतारमा आएर समाचार सुनायो -“गोहीलालले विज्ञप्ति निकालेछ नि!”
उसले खररर सुनाएको विज्ञप्तिमा यस्तो थियो -“म‌ैले वर्षौँ मुख्य पद चलाएँ । त्यसबाट आर्जन गरेको रू. १०००/हो । अझ रू १५०/ करबापत उत्तै फिर्ता गरेँ । यसबाटै २ वटा पुस्तक थपेँ । जीवनसाथीको गलामा १ तोलाको सिक्री झुन्डाइदिन सकेँ । एउटा झुपडी न्युरोडमा जोडेँ…!” यस्तै यस्तै सुनेँ ।

विज्ञप्तिका अन्तिम हरफमा लेखिएको रहेछ- “म सर्वथा सगरमाथाको उचाइ हुँ । सती सावित्रीझैँ इमान र जमानमा छु ।” यसपछि गुनीलालले विज्ञप्ति सबै निहाल्यो, ओल्टाइपल्टाइ गर्यो र तीन छक पर्यो ।अनि उसले मनमनै सोच्यो- गोहीलालले आफूले न्याकेर चपाएका कयौँ निर्दोष मुनाहरू सम्झिएनछ ,कति निष्ठुर ! छलछाम गर्दा पनि उप्किन सक्ने रङ्ग रोगनहरूको मात्र फेहरिस्त ओकलेछ ।”

“भक्तजनहरूको वा वा ! ध्वनि प्रदुषणजस्तै भइरहेको छ । आँखा र कानहरू टट्याइरहेका छन् ।”मनमनै गुनीलाल गम्न थाल्छ र बग्रेल्ती कौतुहल आँफैभित्र पस्किन थाल्छ र मस्तिष्कमा नयाँ झन्कार भर्छ ।

तैपनि भक्तजनहरूले गोहीलालको डकार र विकारलाई सुगन्ध ठान्छन्, प्रसादी स्वीकार गर्छन् र चरम प्रशंसा ओकल्छन् । ती दासजस्ता भक्तहरूको हर्कतले गुनीलाललाई असह्य पीडा हुन्छ । तसर्थ उसले बेस्सरी चिच्च्याउँदै भन्छ- “गोहीलालले सजीव र नीर्जीव स्वात्तै निल्यो, ख्वाप्पै एमसिसीका दाह्रा र नङ्ग्राले दाब्न थाल्यो, हवासहवास्ती होलीवाइन पियो, विलासी महल र कार जोड्यो, अकुत सम्पत्ति कुम्ल्यायो र दस्तावेज लुकायो, फन्डै फन्डामा आफूलाई उभ्यायो र कान्डै कान्डले घेरियो । तर ती सब कुरा किन बबुरो विज्ञप्तिमा आएन हँ ।” यस्तै तर्कनामा उसले आफूलाई डुबाउँछ । ऊ फेरि अौँला ठड्याउँदै चर्किन थाल्छ-“चुचे नक्सा गायब पार्ने गोहीलाल खोई ? ऊ सिकारले अठेसमठेस भएपछि मात्र आँसु चुहाउने गर्छ” यतिले मात्र उसलाई चित्त बुझेन र बर्बराउँदै भन्यो- “चुरे फोरेर दक्षिणतिर सम्पदा सार्न खोज्ने त्यसको कुटिल धुन बुझ ! नत्र हामी रित्तो ढ्वाङ्ग जस्तै हुनेछौँ । झन् माटो दुख्ने छ र बाटो फुट्ने छ ।”

“भक्तजनहरूको वा वा ! ध्वनि प्रदुषणजस्तै भइरहेको छ । आँखा र कानहरू टट्याइरहेका छन् ।”मनमनै गुनीलाल गम्न थाल्छ र बग्रेल्ती कौतुहल आँफैभित्र पस्किन थाल्छ र मस्तिष्कमा नयाँ झन्कार भर्छ ।

केही त बोल ,बोल !
सत्ताका भेरिएन्टले उन्मत्त भक्तजनहरू जिन्दावाद भनिरहेका छन् । वादविवाद चर्किरहेको छ । सर्वसत्ताको अपुङ्गो बाँडिरहेका छन् तिनीहरू ! भक्तजनहरू उसलाई धकेलिरहेछन् ।

यी सबै आकृति गाउँलेहरूले सुनिरहेका र देखिरहेका छन् चुपचाप ! चुपचाप !

गुनीलाल एक्लै चिच्च्याउँदै गोहीलालको प्रतिरोधमा उत्रिरहेको छ । ती उन्मत्त भेरियन्टका हर्कत गाउँलेलाई अप्रिय लागिरहेको छ । यतिकैमा गुनीलालको आवाजलाई गाउँलेले साथ दिँदै चिच्च्याउँछन्- “ए गोहीलालका दासहरू हो ,उसका कुकर्मलाई सुनपानीले छर्केर कति चोख्याउन खोज्छौँ ? उसका दुर्गन्धलाई पनि किन सुगन्ध र अक्सिजन सम्झिन्छौँ ?”

ती प्रश्नले भक्तजनहरू मुरमुरिन थाल्छन् ।

अप्रत्याशित एकाकार भएका गाउँले र गुनीलालले सलाई कोरेर त्यो विज्ञप्तिलाई सल्काउँछन् ।अनि मुठ्ठी कस्दै भन्छन्-“गोहीलालको विज्ञप्ति गोहीकै आँसु हो”

सिनपा- १० , ढुस्के शिखरबस्ती, बेतिनी ,ओखलढुङ्गा । 

Facebook Comments